मनदेखि भागेर कहाँ जान सकिन्छ
देश छोडेर कहाँ जान सकिन्छ
तिमीबाट छुट्टिएर कहाँ जान सकिन्छ —मैले खोजेँ।
घामबाट छुटिएर किरण कहाँ जान्छ
जुनदेखि चुँहिएर शीतल कहाँ झर्छ
फूलबाट चुडिएर सुगन्ध कहाँ मिसिन्छ
हावालाई छोडेर सास कहाँ बहन्छ।
यी कलमबाट निस्किएर त मसी अक्षर बन्दछ
सम्हाल्न नसकेर त पोखिन्छ तिम्रो सम्झना,
आँखाको डिलबाट,
मनको भित्ताबाट—त्यही तिम्रो सम्झना सकिएर कहाँ जान्छ।।
No comments:
Post a Comment